इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीमा व्यवसाय नवीकरण प्रक्रिया सुरु भएको छ। आगामी वर्ष हुन लागेको उवासंघ इटहरीको निर्वाचनको लागी एक वर्ष अगावै व्यवसाय नवीकरण सुरु भएको हो। चालु आर्थिक वर्ष (असार मसान्त) सम्ममा व्यवसाय नवीकरण नगर्ने व्यवसायीले भोट हाल्न नपाइने भएको छ।

२०७७ चैत ७ गतेको साधारणसभाले निर्वाचनको अघिल्लो आर्थिक वर्षभित्र नवीकरण नगरे भोट हाल्न नपाउने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुरूप व्यवसायीहरू नवीकरणको लागी उवासंघ कार्यालय धाउन थालेका छन्। अघिल्ला वर्षहरूमा निर्वाचनको ३५ दिन अगाडि नवीकरण गर्दा हुने व्यवस्था भए पनि यस पटक नियम परिवर्तन भएको हो ।

निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै एक वर्ष अगावै नवीकरणको व्यवस्था मिलाइएको उवासंघ इटहरीका महासचिव पीताम्बर पोखरेलले बताए। साधारण सभाबाटै पारित भएको विषय भएकाले खास व्यवसायीहरू नवीकरणको प्रक्रियामा सामेल हुने उनको विश्वास छ । यस अघि पनि विभिन्न सूचना र माइकिङ मार्फत जानकारी गराइएको पोखरेलको भनाई छ।

व्यवसाय नवीकरणको मिति सकिन एक साता मात्र बाँकी रहँदा मंगलबार सम्ममा ७५४ व्यवसाय मात्र नवीकरणको सुचीमा छन् । त्यसमध्ये उद्योग तर्फ १२८, वाणिज्य तर्फ ५९८, एसोसिटएट तर्फ २१ र बस्तुगत तर्फ ७ रहेका छन् । उवासंघ इटहरीमा ९१० जनाले आजीवन सदस्यता पाएका छन्।

“एकबर्ष अगावै नवीकरण भएपछि चुनावमा हुने बेथिति रोकिन्छ । गैर व्यापारी पनि भोटर्स हुने परम्पराको अन्त्य हुन्छ ।,” उनले भने, “व्यवसायी छायाँमा पर्ने र गैर व्यापारीले नेतृत्व चयन गर्ने प्रक्रियाको अन्त्य गर्न यसो गरिएको हो। अहिले सम्मको अवस्था हेर्दा ३ हजार मात्र मतदाताले आगामी चुनावमा भाग लिने देखिन्छ ।”
उवासंघ इटहरीको कार्यालयले दिएको जानकारी अनुसार कुल १० हजार ६२ व्यवसाय दर्ता भएका छन् । त्यसमध्ये अघिल्लो निर्वाचनमा ५ हजार ६८ जनाले मतदान गरेका थिए।