झापा : लकडाउनको बहानामा तास खेलिरहेका ११ जना जुवाडेलाई आज राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार दमक वडा नं ८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको ठाउँमा आज राति ७ बजे प्रहरी टोलीले छापा मारेको थियो।

जुवाको खालबाट प्रहरीले ७ लाख ४५ हजार ५ सय रुपैयाँ नगद र तासको ६ बुक बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा दमक १ का ५४ वर्षीय नरेन्द्र थापा, २३ वर्षीय नरेन्द्र लिम्बु, ४३ वर्षीय हर्क धिमाल, इलामको चुलाचुली ६ का ३१ वर्षीय चन्द्र लिम्बु, ३७ वर्षीय हर्क लिम्बु, ४० वर्षीय कृष्ण खतिवडा, ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ, ४४ वर्षीय पूर्णप्रकाश रिजाल, २८ वर्षीय सुसन रिजाल, ३८ वर्षीय कुलराज खड्का र घरधनी २९ वर्षीय थिरराज खतिवडा रहेका छन् ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ। उनीहरूमाथि कानुनी कारबाही अगाडी बढाइने प्रहरीको भनाई छ।