धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा धरानका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार कोभिड १९ अस्पतालमा उपचारको क्रममा धरान-८ का ६७ वर्षीय महिला र धरान ११ का ९१ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको हो ।

धरान-८ का ६७ वर्षीय महिलालाई असार १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गए राति २ बजेर २० मिनेटमा मृत्यु भएको थियो ।

यस्तै धरान-११ का ९१ वर्षीय वृद्ध पुरुषलाई असार २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने २४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनको पनि गए राति १ बजेर १८ मिनेटमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक दुवैलाई दिर्घरोग रहेको प्रतिष्ठानले जनाएको छ ।