धरान : मोरङको बेलवारी नगरपालिका–१ गाईघाट टोलबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् । हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खानतलासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५ सय ४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जना माथि इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।