विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताएकी छिन् ।

कोभिड अस्पतालले सुविधा सम्पन्न सेवा दिएको उनले दाबी गरिन् । निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जितेको मन्त्री राईले बताइन् ।

आज अस्पतालको अनुगमन गर्दै सामाजिक विकास मन्त्री राईले प्रदेश १ सरकारले अन्य प्रदेश भन्दा पहिले व्यवस्थित रूपमा कोभिड अस्पताल सञ्चालन गरेको बताइन् ।

उनले प्रदेश सरकारले कोभिड अस्पतालका लागि पर्याप्त जनशक्तिको प्रबन्ध गरिएको पनि बताइन् । मन्त्री राईले आइसियु, भेन्टिलेटरमा उपचाररत बिरामीको अवस्थाबारे कन्ट्रोल रुमबाट जानकारी पनि लिएकी थिइन ।

कोरोना सङ्क्रमणको अन्त्यपछि कोभिड अस्पताललाई स्त्री रोग तथा प्रसूति अस्पताल बनाउने तयारी रहेको उनले बताइन् । मन्त्री राईले भनिन्–प्रदेश सरकारले यसका लागि आवश्यक बजेटको पनि प्रबन्ध गरेको छ ।’

९६ वटा बेड रहेको कोभिड अस्पतालमा आज ४१ जना उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिए । उनका अनुसार जनरल बेडमा ८, एचडियुमा १५ र आइसियुमा १८ जना उपचाररत छन् । उनले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको बताए ।

Mosd-1