इटहरी : होटेल व्यवसायी सङ्घ इटहरीको ११ औँ साधारणसभा सम्पन्न भएको छ। इटहरी उद्योग वाणिज्य सङ्घको सभा हलमा सम्पन्न साधारणसभाले जीवन पराजुलीलाई अध्यक्षमा चयन गरेको हो।

इटहरीका ३७६ होटेल व्यवसायीहरू आबद्ध रहेको सङ्घमा पराजुली दोस्रो कार्यकालको लागी अध्यक्ष चयन भएका हुन् । साधारणसभाले २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । पराजुली अध्यक्ष रहेको समितिको वरिष्ठ उपाध्यक्षमा नवराज काफ्ले, उपाध्यक्षमा पुनम थापा मगर, कृष्ण निरौला र प्रकाश महत छन्। सोही सभाले महासचिवमा जय प्रकाश उपाध्यायलाई चयन गरेको छ भने सचिवमा अरोन कार्की, कोषाध्यक्ष बाबुराम कार्की, सहसचिव टिका बहादुर कटवाल सहित थप ११ सदस्यीय समिति गठन भएको हो।

अध्यक्ष चयन भएसँगै पराजुलीले व्यावसायिक हक हितको लागी अनवरत लागी पर्ने बाचा गरेका छन्। पहिलो कार्यकालमा कोरोना महामारीको कारण सोचेजस्तो काम गर्न नसकेको बताउँदै उनले आगामी दिनमा इटहरीको होटेल व्यवसायको स्तरवृद्धीमा लागी पर्ने बताए।

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलको प्रमुख आतीथ्यतामा सम्पन्न साधारणसभामा २ सय बढी व्यवसायीको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै पौडेलले होटेल तथा पर्यटन व्यवसायीहरू एक भएर मात्र व्यवसायीक नाफा कमाउने सकिने बताए। राज्यको आयस्रोतमा पर्यटन व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले थप व्यावसायिक सहयोगको लागी उवासंघ इटहरी तयार रहेको उनको भनाई छ।

होटेल व्यवसायी सङ्घको साधारण सभाको पूर्व सन्ध्यामा बिहीबार अर्को समिति गठन भएको छ। व्यवसायी उमेश दाहालको अध्यक्षतामा होटेल तथा लज व्यवसायी समिति गठन भएको हो। समितिले २५ औँ वार्षिक साधारणसभा तथा ९ औ अधिवेशन आयोजना गरेर दाहाललाई नयाँ अध्यक्ष चयन गरेको हो।

नारायण बहादुर तामाङले स्थापना गरेको समिति सङ्घमै आबद्ध भएको भए पनि पुनः छुट्टै संस्थाको रूपमा बाहिर आएको छ । सङ्घ भित्र चरम राजनीतिकरण भएको र व्यवसायीले भन्दा नेताले समिति गठन गर्न थालेपछि आफूहरू छुट्टिनु परेको दाहालको भनाई छ। निवर्तमान महासचिव समेत रहेका उनले बाहिरका मान्छेहरूले आफन्तलाई पद दिने लोभीहरूको कारणले आफूहरू छुट्टिनु परेको बताए ।