धरान : धरान उपमहानगरपालिकाको नवौँ नगरसभा सम्पन्न भएको छ ।

नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित भएसँगै नगरसभा आज सम्पन्न गरेको हो ।
शनिवार सम्पन्न नगरसभाको तेस्रो बैठकले बजेट तथा विनियोजन विधेयक पारित गरेसँगै आगामी आर्थिक वर्ष २०७८/०८९ को लागि २ अर्ब ३ करोड ६४ लाखको बजेट पारित भएको छ ।

बैठकमा उपमेयर मञ्जु भण्डारीले विनियोजन विधेयक प्रस्तुत गरेका थिए । शुक्रवार भएको नगरसभाको दोस्रो बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक (आय) पारित गर्दै आज सम्मका लागि स्थगित गरेको थियो । दोस्रो बैठकमा विनियोजन विधेयक माथि बोल्न चाहनेहरूलाई आज बिहानसम्म नगरसभाको सचिवालयमा नाम टिपाउन समय दिइएको थियो ।

नाम टिपाएका नगरसभा सदस्यहरूले आजको बैठकमा कुरा उठाएका थिए । बैठकमा विधेयक प्रस्तुतकर्ता उपमेयर भण्डारीले सदस्यहरूले उठाएको कुरा प्रस्ट पारेका थिए । सम्पन्न नगरसभा बैठकमा अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक नरेशकुमार इङ्वारामले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नगरसभाका सभाध्यक्ष समेत रहेका मेयर तिलक राईले विधेयक पारित गर्न प्रस्ताव गरेपछि ध्वनि मतले सर्वसम्मत रूपमा बजेट तथा विनियोजन विधेयक पारित भएको छ । मेयर राईले नगरसभा सदस्यहरूलाई शून्य समयमा आफ्नो जिज्ञासाहरू राख्न दिएका थिए ।

उनीहरूको जिज्ञासा सुनेपछि मेयर राईले नगरसभामा सम्बोधन समेत गरेका थिए । मेयर राईले बैठकमा हाल उपचाररत वडा नं. २ की सदस्य सन्ध्या श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । साथै, नगरसभामा अनिवार्य पोसाक लगाएर आएका सदस्यहरूलाई प्रति व्यक्ति ५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्ने प्रतिबद्धता गर्दै मेयर राई नवौँ नगरसभा सम्पन्न भएको घोषणा गरेका थिए ।