विराटनगर : नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ ।

एमाले मोरङले १५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिए ।

एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला कमिटीको बैठकले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकै दिन गर्ने तयारी गरिएको खतिवडाले बताए । जनसङ्गठनहरूले भेला तथा अधिवेशनबाट नयाँ कमिटी निर्माण भदौ मसान्त सम्ममा गरिसक्नु पर्ने बैठकले निर्णय गरेको छ ।

जिल्ला कमिटी बैठकले २०७८ सालको सदस्यता नवीकरण आगामी साउन १५ गते भित्रमा गरिसकेर जिल्लामा नामावली र शुल्क बुझाई सक्नुपर्ने निर्णय गरेको छ । बैठकले विभिन्न पार्टीबाट आएका, विगतमा नेकपा हुँदा पार्टी सदस्य कायम भएका र एमालेमा रहेका सबैको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको स्कुल विभाग प्रमुख खतिवडाले बताउनुभयो ।

बाढी, पहिरोबाट हुन सक्ने जोखिमबाट बच्नका लागि आवश्यक सहयोग तथा स्वयंसेवकीय र सम्भावित जोखिमको रोकथाम र न्यूनीकरणका लागि आवश्यक भूमिका निर्वाह गर्न जनवर्गिय सङ्गठनहरू राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु, ट्रेड युनियन महासङ्घ र अनेमसंघलाई आवश्यक सहयोगका लागि जिम्मेवारी दिइएको छ ।

एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले आगामी भदौ भित्रमा सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन सङ्घीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । यस्तै कोरोना सङ्क्रमण तथा अन्य कारणबाट निधन भएका पार्टीका नेता कार्यकर्ताहरूमा श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना पनि प्रकट गरेको स्कुल विभाग प्रमुख खतिवडाले बताए ।

जिल्ला कमिटी बैठकमा नेता ढकालले एमालेमा समानान्तर गतिविधि गरिरहेको समूहलाई अन्य पार्टीसँग गठबन्धन टुटाउन आग्रह गरे । अन्य पार्टीसँगको गठबन्धन टुटाए एमाले एकताबद्ध हुने उनले बताए ।