धरान : जनता समाजवादी पार्टी केन्द्रीय समितिले प्रतिष्ठानमा उत्पन्न अल्पकालीन तथा दीर्घकालीन समस्या समाधान गर्न अविलम्ब पहलकदमी लिन सरकारसँग माग गरेको छ ।

जनता समाजवादी पार्टी केन्द्रीय कार्यसमिति प्रचार विभाग प्रमुख डम्बर खतिवडाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा धरानको समस्याप्रति सरकार र व्यवस्थापन पक्षले देखाएको बेवास्ताले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा सरकारको गलत स्वास्थ्य शिक्षा नीति, स्वास्थ्य शिक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत अवाञ्छित राजनीतिकरण तथा दलीयकरण गरेको आरोप लगाएको छ । जसले गर्दा व्यवस्थापकीय असक्षमता भएको कारण देशकै एक अब्बल स्वास्थ्य प्रतिष्ठान चरम आर्थिक सङ्कट, अपारदर्शिता, अविश्वास र बेथितिले धराशायी हुने स्थितिमा पुगेको जनाएको छ ।

तर, यस्तो अवस्थामा पुग्दा समेत कानमा तेल हालेर बस्ने प्रधानमन्त्री तथा प्रतिष्ठानको कुलपति केपी शर्मा ओली सरकारको रवैया किमार्थ शोमनीय र जिम्मेवार मान्न सकिँदैन भनिएको छ ।

प्रतिष्ठानका प्राध्यापक, विद्यार्थी, स्वास्थ्यकर्मी, प्राविधिक तथा कर्मचारी लगायतका माग तथा धरान नागरिक समूह र आम जनसमुदायबाट उठेका गुनासालाई समेत ध्यान दिँदै सबै आन्दोलनरत तथा सरोकारवाला पक्षसँग सरकारले अविलम्ब वार्ता गरी यथोचित निष्कर्षमा पुग्नु जरुरत रहेको उल्लेख छ ।

आर्थिक अनियमितता, कमिसनतन्त्र, बेरुजु र भ्रष्टाचारजन्य क्रियाकलापको यथोचित छानबिन र कारबाहीको माग गरिएको छ ।

Jasapa-Bigyapti