धरान : सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका दुई प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी–२ का २८ वर्षीय विकास कार्की र मोरङ कानेपोखरी–३ का ४१ वर्षीय लक्ष्मण सार्की रहेका छन् । फरार प्रतिवादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय (प्रादेशिक अनुसन्धान आरआईटी) समूहबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रवार पक्राउ गरेको हो ।

पक्राउ परेका लक्ष्मणलाई सुनसरी जिल्ला अदालतबाट २०७३ साल भदौ ४ गते ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएकोमा उनी फरार भएका थिए । यसै गरी पक्राउ परेका अर्का विकासलाई पनि सुनसरी जिल्ला अदालतबाट २०७३ साल भदौ २७ गते १ वर्ष कैद र ७ हजार रुपैयाँ जरिवाना तोकिएकोमा उनी पनि फरार भएका थिए ।

फरार पश्चात् पक्राउ परेका दुवै जनालाई सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुल उपरको लागि क्षेत्रीय कारागार झुम्का पठाइएको छ ।