धरान : धरानमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणदर पनि बढेको छ ।

धरानमा अहिले दैनिक ५० भन्दा बढीमा कोरोना सङ्क्रमण भइरहेको छ भने सरदर दैनिक १ देखि २ जनाको मृत्यु भइरहेको छ ।

धरानमा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या दोस्रो लहरको कोरोना सङ्क्रमणबाट ३ हजार ७ सय ६ जनामा सङ्क्रमण भएको छ भने ९४ जनाको मृत्यु भएको छ । यो आधारलाई हेर्ने हो भने धरानमा कोरोना संक्रमणदर बढेसँगै मृत्यु दर २.४ प्रतिशत रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

पछिल्लो समय कोरोना संक्रमणदर धरानमा बढेको बताउँदै उनले भने अरू तिर के कस्तो छ थाहा भएन धरानमा कोरोना परीक्षणको दायरा पनि बढाइएको छ ।

साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार नगरवासीको कोरोना परीक्षण गर्ने गरिन्छ । त्योसँगै धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पिसिआर ल्याब रहेकोले पनि सर्वसाधारण आफै कोरोना परीक्षण गर्न पुग्ने भएकोले पनि परीक्षण धेरै भएसँगै कोरोना संक्रमणदर पनि बढेको हो ।

मेहेताका अनुसार धरानमा पछिल्लो समय सबै जसो पसल व्यावसायहरु खुल्ला भएसँगै मानिसको आवतजावत र भिडभाड बढेकोले कोरोना संक्रमणदर पनि बढेको छ ।

कोरोना सङ्क्रमणको पहिलो लहरमा जिमहलहरुबाट कोरोना सङ्क्रमण फैलिएको पाईएको थियो । तर धरानमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अलिकति पनि पालना नगरी धरानका जिमहलहरु खुल्ला हुनु र बजार पसलहरूमा सामान्य सामाजिक दुरी पनि पालना नगर्नुले गर्दा सङ्क्रमण बढेको बताइन्छ ।

धरानका दुई वटा तरकारी बजारहरूमा अत्यधिक भिडभाड हुने र अझ निषेधाज्ञाको उल्लङ्घन गरी तरकारी बजार खोलिनुले गर्दा कोरोना सङ्क्रमणको जोखिम झन् बढेको छ । धरानमा जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाको कुनै पनि नियम पालना गरेको पाईएको छैन ।

यातायातमा जोरबिजोर प्रणाली भए पनि प्रहरीले यसबारेमा चासो देखाएको पाइँदैन । यसले गर्दा सवारी साधनहरू ट्राफिक जाम हुनेगरीनै गुडिरहेका छन् । यसबारेमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरलाई सोध्दा प्रहरीले धरानमा निषेधाज्ञालाई कडाइका साथ पालना गराउने बताए । सुनसरीमा निषेधाज्ञा पुर्णरुपमा हटाइएको छैन । असार ३१ गते सम्म निषेधाज्ञा केही खुकुलो गरेर जारी गरिएको छ ।

Dharanma-jam
धरानको मुख्य बजार क्षेत्रमा सवारी साधनको चाप