धरान : सुनसरीको इटहरी उप–महानगरपालिका–६ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।

इटहरी-६ मा रहेको एक होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित शनिवार राती पौने १२ बजे ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बारा जिल्ला निजगढ नगरपालिका–१२ घर भई इटहरी उप–महानगरपालिका–५ बस्दै आएका २७ वर्षीय दीपक भन्ने वीरेन्द्र राई, इटहरी–५ का १६ वर्षीय १ बालक र इटहरी–४ का १८ वर्षीय जोन चौलागाई रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, विभिन्न कम्पनीको मोबाइल ३ थान, मोटरसाइकल १ थान र नगद २०००।– समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई सोधपुछ गर्ने क्रममा इटहरी ४ का २३ वर्षीय विवेक खड्काको समेत संलग्नता रहेको खुल्न आए सँगै खड्कालाई समेत २९ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर र १ थान मोबाइल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Braunsugar-Digital