धरान : विभिन्न सञ्चार क्षेत्रमा आबद्ध रही नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका सम्पूर्ण पत्रकारहरूलाई असार मसान्त भित्र आफ्नो सदस्यता नवीकरण आह्वान गरी रहँदा इनरुवामा पत्रकारहरूले नवीकरण छुट गरी दिन आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तर्गत रही सदरमुकाम इनरुवा स्थित युनियनको इनरुवा शाखाले पत्रकारहरूको हकहितका लागि आवाज सो आवाज उठाएका हुन ।

देश व्यापीरुपमा फैलिएको कोरोना कहरका कारण सबै क्षेत्र प्रभावित भइरहेको अवस्थामा पत्रकारिता क्षेत्र समेत यसबाट अछुतो रहन नसकिरहेको बताउँदै नेपाल प्रेस युनियन इनरुवा शाखाका सभापति टोमराज मेहताले त्यहीँ कुरालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासङ्घलाई सदस्यता नवीकरणमा छुट गरिदिन ज्ञापन पत्र मार्फत आग्रह गरेको जनाएका छन् ।

नगर सभापति मेहताले कोरोना कहरका कारण कतिपय पत्रकारहरू समेत आर्थिक सङ्कटमा परिरहेको समयमा सदस्यता नवीकरण शुल्क छुटको माग राख्दै महासङ्घलाई ज्ञापन पत्र बुझाएको हो ।

युनियनको इनरुवा शाखाले नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य इकवाल अहमद मार्फत केन्द्र, प्रदेश सचिव देवेन्द्र कार्की र महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राईलाई आइतबार ज्ञापन बुझाएको हो ।

सो ज्ञापन पत्रमा कोरोनाका कारण कतिपय पत्रकारहरूले ज्यान गुमाएको , कतिपय अझै सङ्क्रमित रहेका तथा कतिपय पत्रकारहरूले रोजगारी गुमाएको कारण पत्रकारहरू समेत आर्थिक सङ्कटमा परेकाले देशभरकै महासङ्घका सदस्यता नवीकरण शुल्कमा छुटको माग गरिएको उल्लेख छ । कोरोनाका कारण ज्यान गुमाउने पत्रकारहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत ज्ञापन पत्रमा गरिएको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य इकबाल अहमदले ज्ञापन पत्र बुझ्दै विषय सान्दर्भिक र श्रमजीवी पत्रकारका पक्षमा रहेको कारण यसलाई कार्यान्वयन गराउन आफू केन्द्रीय समितिमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे ।