धरान : सरुवा भएर जिल्ला प्रहरी कार्यालय सुनसरी आएका एसपी सञ्जयसिंह थापाले अपराध अनुसन्धान र शान्ति सुरक्षाको विषयमा कहिल्यै नझुक्ने बताएका छन् ।

सुनसरीको प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हालेको १२ औँ दिनमा जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् ।

प्रहरीहरूले प्रदान गर्ने सेवा छिटो छरितोका साथसाथै अनुशासित हुनुपर्ने बताएका छन् । थापाले बाटोमा लाग्ने समय बाहेक प्रहरीले एक मिनेट पनि ढिलाइ नगर्ने पुलिसिङ लागु गर्ने समेत बताए ।

थापाले भने मेरो कार्यकालमा प्रहरी सेवा छिटो र छरितो हुनेछ । आफ्नो कार्यकालमा जिल्लामा घटना भएको ५ मिनेटमा नै प्रहरी घटनास्थलमा पुग्ने खालको कार्ययोजना बनाउँछु तर, घटनामा बिचौलियाहरूको हाबी हुनु भएन ।

साधन स्रोत र जनशक्तिको अभावमा पनि जनमैत्री पुलिसिङमा आफ्नो मुख्य जोड रहने बताउँदै थापाले मातहतका सबै प्रहरी कार्यालयको समन्वयमा प्रहरीको उपस्थिति सबै ठाउँमा र समयमै हुने दाबी गरे ।

यस्तै थापाले आफ्नो कार्यकाल भर तस्करीसँगको प्रहरीको अवैध सम्बन्ध तथा प्रहरी कार्यालयमा बिचौलियाहरूको हाबी हुन समेत नदिने प्रतिबद्धता व्यक्त गरे । सीमामा हुने तस्करसँगको प्रहरीको अनावश्यक सम्बन्ध तथा विभिन्न मुद्दा मिलाउने बिचौलियाहरूसँग आफू टाढा रहेन दाबी थापाले गरे ।

नागरिकहरू पनि बिना बर्दीको प्रहरी भएकाले सुशासन समाजको निमार्ण गर्न नागरिकहरूले प्रहरीहरूलाई सूचना तथा जानकारी दिएर पनि सहयोग गर्न उनले अनुरोध गरे ।

थापाले आफूले कुनै खास छुट्टै योजना नबनाएको जनाउँदै नेपाल प्रहरीको कार्ययोजना नै लागु गर्ने बताए । तर, यो जिल्लामा तस्करी,जुवा तास र लागूऔषध सेवन होटलहरुमा हुने यौन धन्दा लगायतको कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताउँदै जिल्लामा हुने शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, महिला हिंसा, झैझगडा अन्त्य गर्न नागरिक समाज र पत्रकारहरूसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

परिचयात्मक कार्यक्रममा पत्रकारहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न जिल्ला प्रहरी प्रमुख थापालाई सुझाव दिएका थिए । शान्ति सुरक्षाका हिसाबले संवेदनशील भएको भन्दै पत्रकारहरूले कसैको प्रभाव र दबाबमा नपरेर शान्ति सुरक्षामा खटिन थापालाई अनुरोध समेत गरेका थिए ।

परिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरूले सुनसरीमा लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी नियन्त्रणसँगै जिल्लामा शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीले पत्रकारहरू सँग पनि सहकार्य गर्दै जाने बताए ।

SP