धरान : प्रहरीले ब्राउन सुगर कारोबारी एक जनालाई नगद र डिजिटल उपकरण सहित पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–४ गैरीगाँउको इन्द्र रसाइलीको घरमा भाडा गरी बस्ने तेह्रथुम म्याङ्लुङ–६ घर भएका ३४ वर्षीय दुर्गा बहादुर रसाइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रसाइलीले लागू औषध खैरो हिरोइन (ब्राउनसुगर) कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले घर भाडा गरी बसेको कोठामा शङ्कास्पद अवस्थामा फेला पारी उनको कोठा र शरीर खानतलासी गर्दा ५३.२ ग्राम ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण थान १, नगद रु. ९८,१७५।– (अन्ठानब्बे हजार एक सय पचहत्तर) र विभिन्न कम्पनीको मोबाइलहरू थान ३ समेत फेला पारी पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।