विराटनगर : प्रदेश १ सरकारले खोटाङ जिल्ला अस्पताललाई फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिन हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङ अस्पतालका ल्याब टेक्निसियन शेखर अधिकारीलाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरले खरिद गरेको सो मेसिन खोटाङ अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पतालमा अत्यधिक बिरामीको चाप रहेकाले सुगर, लिभर फङ्सन लगायतको परीक्षणमा समस्या हुँदै आएको थियो । सो मेसिनले एक घण्टामा साढे ३ सय नमुना परीक्षण गर्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए । एकै पटकमा ७२ वटा नमुनाहरू राख्न सकिने उनले बताए ।

फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिनको बजार मूल्य करिब ३५ लाख सम्म पर्ने साहको भनाई छ । सामाजिक विकास मन्त्री राईले जिल्ला अस्पतालहरूलाई आवश्यकताका आधारमा स्वास्थ्य उपकरणहरू प्रदेश सरकारले प्रदान गर्दै जाने बताए ।

खोटाङ अस्पतालका ल्याब टेक्निसियन अधिकारीले परीक्षणमा सहज हुने र उपचारमा पनि सरलता आउने बताए ।