धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले जारी गरेको परमादेशको कारण आफू सरकारबाट बाहिरिएको बताएका छन् ।

उनले राष्ट्रको नाममा सम्बोधन गर्दै जनताको जनदेश आफूसँग भएको र तर सर्वोच्च अदालतको परमादेशका कारण सरकारबाट बाहिरिनुपरेको बताए । सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार फैसला गरेको थियो ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । संविधानको धारा ७६ को उपधारा ५ मा ओली दाबी गर्न अयोग्य रहेको पनि परमादेशमा लेखिएको थियो । यसतर्फ उल्लेख गर्दै ओलीले भने, ’जनताको जनदेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदै छु ।’

मुलुकको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहित रहनु लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण भएको पनि ओलीले बताए । उनले भने,‘जनदेशका लागि जनतामा जाने व्यवस्थालाई निरङ्कुश र कानुनको अपव्याख्यामाथि आधारित भएर एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बन्ने बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषालाई गलत दिशातिर धकेल्न सक्छ भन्नेमा हामी गम्भीर र चिन्तित छौँ ।’

सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको ओलीले बताए । आफूले पदमा रहँदा इमानदारीका साथ काम गरेको पनि दाबी गरे । ’सरकारबाट बाहिरिनु परेकामा कुनै चिन्ता छैन । इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु,’ ओलीले भने ।

आफ्नो कार्यकालमा मुलुकमा चौतर्फी विकास भएको पनि ओलीले दाबी गरे । ’जनताले राहत महसुस गरेको छु । त्यस कारण म बिदाइप्रति खुसी छु । ढुक्क छु । चिन्ता छैन ।’

राष्ट्रको नाममा करिब ५२ मिनेटको सम्बोधनमा प्रधानमन्त्री ओलीले भने 'कोभिड १९ र बाढी पहिरोले आक्रान्त बनाई रहेको बेलामा कोरोना विरुद्धको खोप आयत धमाधम भइरहेको छ । यसमा भोलि सरकार परिवर्तन हुने बित्तिकै हामीले ल्याउयौ खोप पनि भन्न भ्याउनेछन् ।'

आफ्नो कार्यकालको सफलतामै बढी केन्द्रित रहेको सम्बोधनको अन्तिममा ओलीले भने – 'एक छिन बादल लागेको छ, फेरि सूर्य बादललाई हटाएर उदाउनेछ ।'