धरान : धरानमा नेपाली काँग्रेसको आफ्नै पार्टी कार्यालय भवन निर्माण भएको छ । भवन निर्माणको कार्य सम्पन्न भई आन्तरिक सजावट गर्ने काम भइरहेको छ।

काँग्रेस धरानका नगर सभापति तिलक राईका अनुसार महिला नेतृ एवं वडा नं. १८ बाट निर्वाचित वडा सदस्य दिलकुमारी राईले वडा नं. १७ मा भवन बनाउनका लागि निःशुल्क २५ धुर जग्गा उपलब्ध गराएकी थिइन् । सभापति राईले भने, ‘पार्टीका नेता साथीहरूले त्यहाँ अपायक पर्ने भयो, पायक पर्ने ठाउँमा भवन निर्माण गर्नुपर्छ भन्ने कुराहरू उठ्यो, दिदीकै वडा नं. २ मा जग्गा रहेछ, अहिले ५ धुर जग्गामा तिन तलाको भवन बन्दैछ ।’ वडा नं. २ को ५ धुर जग्गा पनि नेतृ दिलकुमारी राईकै हो। वडा नं. १७ को जग्गा उहाँलाई फिर्ता गरिएको नगर सभापति राईले बताए । धरान वडा नं. २ स्थित बलबहादुर राई/भिमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा तिन तलाको पार्टी कार्यालय भवन करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ । अब चाडै भवनको उद्घाटन गर्ने सभापति राईको भनाई छ।

धरानमा काँग्रेसको १२ औँ महाधिवेशनमा १४ सय क्रियाशील सदस्य रहेको थिए भने १३ औँ मा ३३ सय क्रियाशील सदस्य रहेको थिए। १४ औँ महाधिवेशन सम्म आइपुग्दा तिलक राईको नेतृत्वले ४७ सय क्रियाशील सदस्यता बनाउन सफल भएको काँग्रेस धरानका सचिव श्याम पोख्रेलले बताए।

१३ औँ महाधिवेशनबाट निर्वाचित भएको समितिले धरानमा पहिलो पटक उपनिर्वाचनमा जित हासिल गर्न सकेको छ । संसद् विघटन विरुद्धमा नगर समितिको नेतृत्वमा विभिन्न कार्यक्रमहरू गरिएको सचिव पोख्रेलले सुनाए । उनका अनुसार पार्टीको केन्द्रीय समितिको निर्देशनमा आएको हरेक कार्यक्रम यही नेतृत्वले सम्पन्न गरेको छ । उनले भने, ‘२० वटै वडामा जागरण अभियान, पार्टीको कार्यकर्ताहरूलाई हरेक सुख दुःखमा साथ दिनुका साथै कुनै पनि कार्यकर्तामा दुःखद घटना हुँदा समवेदना पत्र लगेर सान्त्वना दिने कार्यक्रमको अभ्यास यही नेतृत्वले बसाएको छ ।’ उपनिर्वाचनमा वडा, नगर, क्षेत्रदेखि लिएर जिल्ला सम्ममा चारै तहको नेतृत्व बनाउन सफल भएको पोख्रेलको धारणा छ।

१३ औँ महाधिवेशनबाट आएको टिम नै १४ औँ महाधिवेशनमा स्थापित गराउने सचिव पोख्रेले बताए । १३ औँ महाधिवेशनमा नगर सभापति तिलक राईको समूहले ५ वर्ष भित्रमा पार्टी कार्यालय बनाउँछु भन्ने प्रतिबद्धता गरेको थियो । सोही प्रतिविद्धतालाई पूर्णता दिएको पोखरेलको भनाई छ । पार्टीका कार्यकर्ताहरूलाई यही समितिले विभिन्न प्रशिक्षण कार्यक्रमहरू गराएको छ। १३ औँ महाधिवेशनपछि सभापति राईको नेतृत्वले प्रत्येक वर्ष पार्टीको साधारण सभा गर्दै आएको छ। पार्टीलाई सिस्टममा लगेको छ । साधारण सभामा पार्टीको सम्पूर्ण हिसाब किताब अडिट गराएर हरेक वर्ष प्रस्तुत गर्ने गरिएको पोख्रेलले जानकारी दिए । साथै, हरेक वर्ष वनभोज कार्यक्रम र महिलालाई तीजको कार्यक्रम पनि यही समितिले आयोजना गर्दै आएको छ।


१३ औँ महाधिवेशनपछि विधानमा भएको अधिकार प्रयोग गरी हरेक वार्डमा, हरेक मतदान केन्द्रमा अधिकार प्राप्त समितिहरू निर्माण गरिएको १३ नं. वार्डका मतदान केन्द्र संयोजक आशिष कट्वालले जानकारी दिए । १३ औँ महाधिवेशनबाट आएका नेतृत्वले केन्द्रीय नेताहरू  ल्याएर धरानमा विभिन्न कार्यक्रमहरू गर्न सफल भएको कट्वालले दाबी गरे । उनले भने, ‘पार्टीका सभापति, वरिष्ठ नेता लगायतका नेताहरू धरान आएका छन्।’

काँग्रेस धरानका सह-सचिव एवं महिला विभाग प्रमुख पञ्चकला राईले १३ औँ महाधिवेशनपछि पार्टीमा महिलाको भूमिका एकदमै सक्रिय रहेको बताइन् । उनले भनिन्, ‘१३ औँ भन्दाअघि महिलाहरूको उपस्थिति कम थियो ।’ अहिलेको नेतृत्वले महिला विभागको अनुरोधमा महिलाहरूलाई प्रशिक्षण कार्यक्रमहरू गराएको उनले सुनाइन् । विगतमा भन्दा अहिले पार्टीमा महिलाहरूको सक्रियता बढेर गएको उनको बुझाई छ । पार्टी सङ्गठित हुनुका साथै आकर्षण बढेर गएको उनले बताइन्।

नेवि सङ्घ महेन्द्र बहुमुखी क्याम्पसका कावा सभापति समेत रहेका स्ववियु सचिव दोर्ची शेर्पाले अहिलेको नेतृत्वले पार्टीका भातृ सङ्गठनहरूलाई चलायमान बनाएको बताए । उनले भने, ‘१३ औँ महाधिवेशन अघि व्यक्तिवादी सङ्गठन थियो, १३ औँ महाधिवेशनपछि सङ्गठनहरू संस्थागत भएको छ, अहिलेको नेतृत्वले चलायमान बनाएको छ, सबैलाई समेट्न सकेको छ ।’ अहिलेको नेतृत्वले उपनिर्वाचनमा जित हासिल गर्नुका साथै आफ्नै पार्टी कार्यालय निर्माण गर्न सफल भएको शेर्पाले बताए । १४ औँ महाधिवेशनमा पनि यही नेतृत्व नै आउनुपर्छ भन्ने कार्यकर्ताको सुझाव छ। धरान काँग्रेस अहिले मजबुत अवस्थामा रहेको छ ।