विराटनगर : मोरङको रंगेलीमा जन्मिने बित्तिकै छोरीको हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ ।

सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसल भित्र गाडेको आरोपमा सुत्केरी महिला, महिलाका श्रीमान् र आम–बुबालाई पक्राउ गरेको हो ।

मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ वर्षकी खुस्बु मण्डलले सोमबार राति करिब ८ बजे घरेमै छोरी जन्माइन् । तर उनका श्रीमान् अरुणले छोरी स्वीकार गर्न मानेनन् । गत चैतमा मात्रै विदेशबाट आएका उनका ७, ५ र ३ वर्षका तीन छोरी छन् ।

बुबाले स्वीकार गर्न नमानेपछि खुस्बुले आफैले ब्लाङ्केटले थिचेर हत्या गरेको प्रहरीलाई बताएकी छिन् । राति घरमै छोरी जन्माएकी उनले आफै ब्ल्याङ्केटले बेरेकी थिइन् । तर श्रीमानले स्वीकार गर्न नमानेपछि हत्या गरी घरबाट करिब पाँच सय मिटर टाढा रहेको पसल भित्र शव गाडिएको थियो ।

खुस्बुका बुबा आमाले सञ्चालन गर्दै आएको मदिरा पसल भित्र शिशुको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । खुस्बुको घर र मदिरा पसल करिब पाँच सय मिटरको दुरीमा छ ।

हत्यापछि ब्लाङ्केटमा बेरेर ल्याएको राति नै होटल भित्र गाडेका थिए । घटना लुकाउन श्रीमान्, र आमाबुबाको हात देखिएको प्रहरीको दाबी छ ।

शिशुको हत्या आरोपमा इलाका प्रहरी कार्यालय रङ्गेलीले खुस्बुका बुवा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीय उर्मिला मण्डल र खुस्बुका श्रीमान् २८ वर्षीय अरुण मण्डललाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रहरीका अनुसार खुस्बुका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । गत चैतमा मात्रै घर फर्किएका थिए । उनी घर फर्कँदा श्रीमती गर्भवती थिइन् । उनले आफ्नो बच्चा नभएको भन्दै स्वीकार गर्न नमानेको प्रहरीले बताएको छ ।