धरान : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले असोज मसान्तभित्र एक तिहाइ र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय भएको हो ।

बैठकले संसदीय मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।
कोरोना फ्रन्टलाइनमा खटिएकाहरूलाई जोखिम भत्ता एक हप्ताभित्र उपलब्ध गराउने निर्णय पनि भएको छ ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर पदभार हिजै ग्रहण गरेका थिए । देउवालाई मुख्यसचिव शंकरदास वैरागी एवं सचिवहरूले सिंहदरबारमा स्वागत गरेका थिए ।