धरान : अयोग्य व्यक्ति नियुक्ति गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भ्रष्टाचार मौलाएको डा. गोविन्द केसीले बताएका छन्।

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान शुद्धीकरण अभियानकालागि संयुक्त सङ्घर्ष समितिको ३० औ दिन देखि जारी आन्दोलनको समर्थनमा सहभागिता जनाएर आन्दोलनलाई सम्बोधन डा। केसीले सो कुरा बताएका हुन्।

४६ साल अगाडि योग्य कर्मचारीलाई अस्पतालमा नियुक्ति गरिन्थ्यो तर प्रजातन्त्र आएपछि पाटीले कार्यकर्तालाई अस्पतालमा नियुक्ति गर्दा स्वास्थ्य क्षेत्रमा सेवाभाव भन्दा व्यापारीकरण बढेको र अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अयोग्य भ्रष्ट पदाधिकारी राखेपछि तिनै अयोग्य कर्मचारीले अस्पताललाई कमाउने भाँडो बनाएको डा. केसीको भनाई छ।

भोट माग्दा शिक्षा र स्वास्थ्यमा नि: शुल्क भन्ने तर आफू अनुकूल कर्मचारी नियुक्ति गर्दा प्रतिष्ठान धराशायी बनेको समेत उनले बताए। स्वास्थ्यमा पनि राजनीति भागबन्डा गरेकाले आफूले सत्याग्रह सुरू गरेको डा. केसीको भनाई छ।

पदाधिकारी चयन गर्ने ऐन र कानुनलाई थन्काएर राखेको र योग्यता नभएका व्यक्ति नियुक्ति गर्नाले भ्रष्टाचार मौलाएको उनको दाबी छ। योग्यता नपुगेका व्यक्तित्वहरू कर्मचारी हुँदा दायित्व तथा जिम्मेवारीप्रति वफादार नरहने उनको तर्क छ।

सबै प्रदेशमा सरकारी मेडिकल हुनुपर्छ भनेर सम्झौता भएको तर २ नंं र ४ नं प्रदेशमा हाल सम्म मेडिकल कलेज नभएको र भएका अस्पतालहरूलाई पनि राजनैतिक नियुक्ति गरेर डुबाउने कार्य गरेकाले ओली सरकार सामाजिक अपराधी भएको उनको आरोप छ।

बिपी प्रतिष्ठानको शुद्धीकरण अभियानमा आफ्नो पूर्ण समर्थन रहेको र आन्दोलन सफल रहने समेत बताएका छन्।