धरान : युवा सङ्घ, विद्यार्थी र यूथ फोर्सले संयुक्त रुपमा धरानमा राँके जुलुस प्रदर्शन गर्दै प्रधानन्यायाधीशको चोलेन्द्र शमशेर जबराको पुत्ला जलाएका छन।

युवा सङ्घ, विद्यार्थी र यूथ फोर्सले नेकपा एमालेको पार्टी कार्यालयबाट छाता चोक हुँदै मुख्य बजार भानुचोकसम्म राँके जुलुस गरेको थियो भने राँके जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको हो। तर, प्रहरीले हस्तक्षेप गर्न नसकेको यूथ फोर्सको दाबि छ ।

नेकपा एमालेको पुनर्गठित भातृसंगठन यूथ फोर्सले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जारी गरेको परमादेशविरुद्ध राँके जुलुस प्रदर्शन गर्दै प्रधानन्यायाधीशको पुत्ला दहन गरेका हुन्।

जुलुसका क्रममा युवाले एमाले अध्यक्ष केपी ओलीको जयजयकार गरी प्रधानन्यायाधीश विरुद्ध अभद्र नाराबाजी गरेका थिए ।

युवाहरूले नाराबाजी गर्दै निकालेको राँके जुलुस प्रहरीले निभाउन खोजेको थियो। प्रहरी हस्तक्षेपपछि युथफोर्सले छाता चोकदेखि भानुचोकसम्म निकालेको राँके जुलुसलाई युवाहरूले भानुचोक पुर्‍याएका थिए ।

युवाहरूको हातमा रहेको राँको खोस्न प्रहरीले युवाहरूलाई लखेटेको थियो ।