धरान : सुनसरीमा कोरोना सङ्क्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १० गते सम्म निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डिसिसिएमसीको बैठकले साउन १ गते देखि लागु हुने गरी साउन १० गते राति १२ बजे सम्म खुकुलो गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्नुपर्ने र अत्यावश्यक काम नपरी घर बाहिर निस्किन नपाइने, सरकारी कार्यालय, संस्थान तथा प्राधिकरण, बैङ्क तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले कार्यालयमा भिडभाड नहुने गरी आलोपालो प्रणाली अपनाई नियमित सेवा प्रवाह गर्ने, पसल तथा व्यवसाय सञ्चालनका हकमा औषधी र स्वास्थ्य सामाग्री, इन्धन व्यवसाय सम्बन्धी पसल (पेट्रोल पम्प, खाना पकाउने ग्यास) खाद्यान्न (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष), तरकारी, फलफूल, डेरी, मासुजन्य तथा बिउबीजन बिक्री गर्ने पसलहरू दिनै भरी सञ्चालन गर्न पाइने निर्णय भएको छ ।

डिपार्टमेन्ट स्टोर समेत बिहान ८ बजे देखी बेलुकी ८ बजे सम्म सञ्चालन गर्ने मेला, हाट, गुद्री, सब्जीमण्डी जस्ता मानिसको भिडभाड हुने कार्य हुन नदिइने बताइएको छ । जिल्लामा सञ्चालित कृषि थोक बजार बिहान ४ बजे देखी बिहान १२ बजे सम्म सञ्चालन गर्न पाउने, यात्रुहरूको सुविधालाई मध्यनजर गरी राजमार्ग छेउछाउका होटेल तथा रेस्टुरेन्टहरू बिहान ८ बजे देखी बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउने तर भौतिक दुरी, साबुन पानीले हात धुने, स्थानिटाईजरको प्रयोग साथै कर्मचारी तथा कामदारले अनिवार्य मास्क तथा पन्जा प्रयोग गरेको हुनु पर्नेछ ।

भिडभाड हुने पार्टी, डान्स, दोहोरी जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन । अनुगमनका क्रममा उपरोक्तानुसार स्वास्थ्य मापदण्ड अपनाएको नपाइएमा तत्काल उक्त होटेल तथा रेस्टुरेन्ट बन्द गराई प्रचलित कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्स बार जिम खाना, खेलकुद, सङ्ग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न नपाइने बताइएको छ ।

गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रूपमा उपस्थित भई गर्ने पर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्ने गरी सञ्चालन गर्ने निर्णय भएको छ ।

सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा निजी तथा सबै प्रकारका सार्वजनिक सवारीसाधन साउन १ गते देखी कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाउने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्नेछ ।

अनिवार्य रूपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्ने । अन्य तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने भनिएको छ ।

मन्दिर, मस्जिद, गुम्बा तथा चर्चहरूमा दैनिक रूपमा गरिने नित्य पूजा, प्रार्थना मात्र निरन्तर गर्न पाउने । धार्मिक तथा सांस्कृतिक कार्यहरू, मेला चाड पर्व, जात्रा महोत्सव, भेला तथा अन्य सामूहिक गतिविधिहरू नगर्ने÷नगराउने । विवाह तथा व्रतबन्ध आयोजनाका लागि १५ जना (दुलहा दुलही सहित) भन्दा बढी नहुने गरी सहभागी हुन पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

वैवाहिक कार्यक्रममा सहभागी भई अन्यत्र जिल्ला जानु फर्कनु पर्ने भएमा (दुलाहा, दुलही सहित) १५ जना भन्दा बढी नहुने गरी २ वटा सवारी साधन प्रयोग गरी स्वास्थ्य मापदण्ड अपनाई सवारी साधनमा ब्यानर राखी आवत जावत गर्न पाउने भारतीय नाकाहरूबाट आवतजावत गर्न निषेध गर्ने अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, जम्मा खोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुन बमोजिम कारबाही गर्ने, उल्लिखित आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ यसको अवज्ञा गर्नेलाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जनाइएको छ भने सङ्क्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरू कुनै पनि बेला पुनरावलोकन गर्न सकिनेछ भनिएको छ ।

Nisedhagya-1 Nisedhagya-2