धरान : भारतीय प्रहरीको फरार सूचीमा रहेका जोगबनी नगर पञ्चायत–९ इन्द्रा नगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई सशस्त्र प्रहरीले पेस्तोल र लागूऔषधसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलका अनुसार सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमान्डमा खटिएको टोलीले विराटनगर–१६ हुलास चोक दक्षिण गेट नजिकदेखि पप्पुलाई बुधवार राती साढे १० बजे पक्राउ गरेको हो ।

प्रहरीले पप्पुको साथबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र दुई वटा कालो प्लास्टिकको झोलामा राखेको लागूऔषध एभिल इन्जेक्सन २ सय ९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २ सय ९५ एम्पुल बरामद गरेको छ ।

पेस्तोल र लागूऔषध सहित सीमा नाका जङ्गे सीमा स्तम्भ १८० नम्बर नजिक डम्पिङ साइटको बाटो भएर नेपाल आउने क्रममा पप्पुलाई पक्राउ गरेको एसपी पौडेलले जानकारी दिए । पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ ।

पप्पु भारतमा विभिन्न अपराध गरी फरार भएका मोस्ट वान्टेड अभियुक्त हुन् । भारतीय प्रहरीले समेत पप्पुको खोजी कार्य तीव्र बनाएको थियो । उनले भारतमा व्यापारीलाई धम्काउने देखि चन्दा असुलीसम्मको आपराधिक धन्दा चलाएको प्रहरीमा उजुरी समेत परेको बुझिएको छ ।

Pappu-1 Pappu-2