धरान : विक्रम सम्बतको पञ्चाङ्ग अनुसार आज साउन महिनाको पहिलो दिन अर्थात् साउने संक्रान्ति पर्व मनाइँदै छ।

असार महिनाभर धान रोपाइँ लगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।

ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ। आजका दिन देखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणी गोलाद्धतर्फ लाग्दछन् अर्थात् साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रूपमा मनाइन्छ।

लुतो फाल्ने दिन 
अधिकांश नेपालीहरू हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलन समेत छ।

परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।

आज देखि महादेव मास सुरु

वैदिक परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना मानिन्छ ।

साउनको सोमबार व्रत बस्दा शिवले मनोकाङ्क्षा पुरा गरिदिने विश्वासका साथ नारीहरू व्रत बस्ने गर्दछन् । साउन महिनालाई हरियो चुरा र मेहन्दीको महिनाका रूपमा पनि हेरिन्छ । महिलाहरू साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै सोमबारे व्रत बस्दछन् ।

साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा एवम् धरानको पिण्डेश्वर बाबाधाम मन्दिरमा भक्तजनको भीड लाग्छ ।

तर, यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण भिडभाड गर्न नपाइने भएकाले धेरैले घरमै बसेर साउने सङ्क्रान्ति पर्व र साउने सोमबार मनाउँदैछन् ।