धरान : धरान वडा नं.-१७ स्थित अजम्बर मार्गदेखि बेलगाछी लाइन सम्मको सडक कालोपत्रे भएको छ ।

सडक उपभोक्ता समितिका सचिव उमेश राईका अनुसार करिब ४ सय ५० मिटर सडकको कालोपत्रे सम्पन्न भएको हो । बिहीबार धरान उपमहानगरका मेयर तिलक राई र वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराईले संयुक्त रूपमा कालोपत्रे सडकको उद्घाटन गरेका छन् ।

उक्त सडकमा ४८ लाख ३५ हजार ३ सय ७४ रुपैयाँको लागतमा कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका सचिव राईले जानकारी दिए । मेयर कोष, उपमहानगरपालिका, १७ नं. वडा कार्यालय र स्थानीय उपभोक्ताबाट बजेट सङ्कलन गरेर उक्त सडकको कालोपत्रे निर्माण सम्पन्न गरिएको हो ।

उपभोक्ता समितिका सचिव राईका अनुसार सडक आसपासमा रहेका विद्युतको ट्रान्सफर्मर सार्ने, विधुतको पोल फेर्नुका साथै स्थानियले खानेपानीको पाइपलाइन पनि पैसा उठाएर सारेका छन् । मेयर राईले धरान उपमहानगरपालिकाले लागत साझेदारीमा निर्माण गरेको बाटोहरू धेरै सङ्ख्यामा पुगिसकेको बताए ।

बाटोको विषयमा छलफल पनि भइरहेको छ । उपभोक्ताहरू आफै ठेकेदार हुने, कमसल र गुणस्तरहीन बनाउने सुरुवात भइरहेको मेयर राईले बताए । मेयर राईले भने, ‘उपभोक्ता बिचमै पदाधिकारीहरू ठेकेदारको रूपमा रहेर आफ्नो निर्माणलाई सम्झौता गर्ने, गुणस्तरहीन सामग्री प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।’

यस्तो प्रवृत्तिले गर्दा राज्य र जनताले नोक्सान बेहोर्नु परेको मेयर राईको भनाई थियो । उपभोक्ताबाट काम गर्ने कि नगर्ने भनेर उपमहानगरपालिकामा छलफल चलिरहेको छ । पछिल्लो समय धरानमा उपभोक्ताहरू ठेकेदारको रूपमा परिणत भइरहेको बताउँदै मेयर राईले यसले उपमहानगरपालिकाको लागत साझेदारीको काममा असर गरिरहेको धारणा व्यक्त गरे ।

मेयर राईले अजम्बर मार्ग र बेलगाछी लाइनमा अत्यन्तै राम्रो काम भएको भन्दै उपभोक्ता समितिको प्रशंसा गरे । ‘यहाँको उपभोक्ताले अत्यन्तै राम्रो काम गरेको छ, धरानको साख जोगाएको छ’ मेयर राईले भने ।