धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै सुरु भएको आन्दोलन आज ३२ दिन पुगेको छ ।

३२ दिन सम्मको निरन्तर आन्दोलनमा रहेका प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारी तथा नर्सहरूले आज केही थोरै सरकारबाट आफ्नो माग सम्बोधन हुने आशा पलाएको बताएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव वैकुण्ठ अर्याल संयोजक रहेको कार्यदल गठन गरेको विभिन्न सञ्चारमाध्यमहरूबाट थाहा पाए पछि केही न केही सरकारबाट सम्बोधन हुनेमा विश्वस्त रहेको संयुक्त सङ्घर्ष समितिका सदस्य डा. पदम नेपालीले बताए ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्स र विद्यार्थीले प्रतिष्ठान सुधारको माग गर्दै निरन्तर आन्दोलन गरेपछि सरकारको तर्फबाट आन्दोलनरत पक्षसँग वार्ता र छलफल गरी समस्या समाधान गर्न कार्यदल गठन भएको बताइएको छ ।

वरिष्ठ सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन भएको आफूहरूले थाहा पाएको डा.नेपालीले बताए । उनले भने कार्यदलको बारेमा आन्दोलनरत पक्षलाई आधिकारिक जानकारी भने दिइएको छैन ।

कार्यदलले आजबाट काम गर्ने गरी १५ दिनभित्रमा सरकारलाई प्रतिवेदन बुझाउने बताइएको छ । आफ्नो माग सम्बोधन नभएको भन्दै प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी तथा नर्सहरूले आज बिहान ८ बजे देखि १० बजे सम्म सेवा बहिस्कार गरेका छन् ।

इमरजेन्सी, कोभिड र पूर्व निर्धारित परीक्षा बाहेक अरूमा आफूहरूले २ घण्टा सेवा बहिस्कार गरेको डा. नेपालीले बताए । प्रतिष्ठानको बेथिति, आर्थिक अनियमितता एवं भ्रष्टाचार अन्त्यका लागि जारी आन्दोलनको क्रममा असार १५ गते वार्ता भाँडिएको थियो ।

उपकुलपतिले मदिरा पिएर आएको भन्दै वार्ता भाँडिएको भोलिपल्ट चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । त्यसयता, उपकुलपति डा. ज्ञानेन्द्र गिरीले २ पटक वार्ताको आह्वान गरे पनि आन्दोलनकारीले कुलपति वा सहकुलपति स्तरबाट गठन भएको उच्चस्तरीय समितिसँग मात्रै वार्ता गर्ने भन्दै अस्वीकार गर्दै आएको छ ।

संयुक्त सङ्घर्ष समितिले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै ४८ घण्टाभित्र माग पुरा नभए दैनिक २ घण्टा इमर्जेन्सी, कोभिड अस्पताल र पूर्व निर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कार गर्ने अल्टिमेटम दिएको थियो । त्यही अनुसार आज २ घण्टा सेवा बहिस्कार भएको हो ।