धरान : स्व. मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस सम्पन्न भएको छ ।

शुक्रवार धरान उपमहानगरपालिकाले शोक सभाको आयोजना गर्दै तेस्रो स्मृति दिवस सम्पन्न गरेको हो । उपमहानगरपालिकाको सभा हलमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीप कुमार भण्डारी, उपमेयर मञ्जु भण्डारी र स्व. मेयर सुब्बाका दिदी होमकुमारी सुब्बाले स्व. मेयर सुब्बाको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्मृति सभालाई सम्बोधन गर्दै सभामुख भण्डारीले स्व. सुब्बाले गरेको योगदानको बारेमा चर्चा गरेका थिए । सभामुख भण्डारीले स्व. सुब्बा धरानको लागी महत्त्वपूर्ण योगदान गरेको नेताको रूपमा परिचित रहेको स्मरण गरे ।

स्व. सुब्बाको विकासका योजनाहरूले अहिले निरन्तरता पाइरहेको बताउँदै सभामुख भण्डारीले धरानको विकासलाई समृद्धितर्फ लान पनि आग्रह गरे । ‘निर्वाचन भएपछि आफ्नो पूर्ण कार्यकाल सम्पन्न गर्न नपाउँदै हामी बिच उहाँ भौतिक रूपमा रहनु भएन, स्व. सुब्बाले देखेको समृद्ध धरान बनाउने विकासको बाटोहरू हामीमाझ जीवितै छन्,’ उनले भने । स्व. सुब्बाले बनाएको योजनाहरूलाई अगाडी बढाउनुपर्ने उनको भनाई थियो ।

उपमेयर भण्डारीले विकास प्रेमी नेताको निधन भएको बताइन् । स्व. सुब्बाले देखेको योजनाहरू अगाडी बढिरहेको बताइन् । धरान उपमहानगरपालिकामा हालसम्म ३ वटा नेतृत्व आइसकेको स्मरण गर्दै स्व. सुब्बा नै रहिरहेको भए एउटा गतिले विकास हुने उनले बताइन् ।

‘स्व. सुब्बाले एक वर्ष मात्र नेतृत्व चलाउन पाउनुभयो, त्यसपछि मैले कार्यवाहक मेयरको रूपमा डेढ वर्ष चलाए, उपनिर्वाचनपछि मेयर तिलक राई आउनुभएको छ, आर्थिक योजनाहरू अघि बढिरहेको छ, विकासका योजनाहरूमा निरन्तरता दिएका छौँ, बसपार्क बनाउने समस्या समाधान हुदैछ,’ उनले भनिन् । उपमेयर भण्डारीले खानेपानी आयोजना नआएको भए धरानवासी काकाकुल हुने अवस्थामा पुग्ने धारणा व्यक्त गरिन ।

स्मृति सभामा धरानका राजनीतिक दलका नेता, वडाध्यक्ष, शाखा प्रमुख लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।