धरान : झापाको दमक नगरपालिका-७ हाटखोलाबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक-७ का ४० वर्षीय कर्ण बहादुर राई, ४४ वर्षीय गङ्गा पाठक, ४० वर्षीय राजन दाहाल रहेका छन् । यसै गरी गौरादह-३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अङ्कित कार्की, गौरादह-८ का ३८ वर्षीय इन्दु कुमार राजवंशी रहेका छन् ।

यस्तै गौरादह-२ का ३२ वर्षीय निर्मल थापा, दमक-२ का ४२ वर्षीय राम बहादुर धिमाल, दमक-६ का ३३ वर्षीय विजय सिंह, सुनसरी इटहरी-४ का ३५ वर्षीय विक्रम गुरुङ र इटहरी-१९ का २६ वर्षीय मिलन राई रहेका छन्।

हिजो बेलुका ६ बजे पक्राउ परेका मध्ये कर्ण बहादुर राईको घरमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैयाँ समेत फेला पारी बरामद गरेको छ ।

पक्राउ परेका उनिहररु माथि जुवा ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।