धरान : सरकारले केही समय भित्रै १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सो जानकारी दिएको हो । १८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरी सरकारले खोप ल्याउने तयारी गरिरहेको भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

‘खोप आपूर्तिको समस्या समाधान गर्दै १८ वर्षमाथिका सबै नेपाली नागरिकका लागि निःशुल्क खोप लगाउने योजना तयार भइसकेको छ’ मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ अव सबै नेपाली नागरिकले कोरोना विरुद्धको खोप पाउँछौँ । सबैले संयमित भई खोप अभियानलाई सफल बनाउनका लागि सहयोग गरिदिनुहुन अनुरोध छ ।’

अहिले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने अभियान चलिरहेको छ । तर त्यसमा पनि व्यापक अनियमितता भएको र केही ठाउँमा खोप केन्द्रहरू नै बन्द भएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो ।
मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट किनेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ ।

Suchana