धरान : हाडनाता सम्बन्धी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत मोरङबाट सफाइ पाएका रोहित विश्वकर्मालाई उच्च अदालत विराटनगरले १७ वर्षको कैद सजाए तोकेको छ ।

मोरङको दर्वेशा गाउँपालिका वडा नं ४ बस्ने ४७ वर्षीय रोहित विश्वकर्मालाई मोरङ अदालतबाट २०७२ चैत १ गते न्यायधिस फणीन्द्रप्रसाद पराजुलीले गरेको इजलासले सफाइ पाएका थिए भने उच्च अदालतले मोरङमा भएको २०७४ असार २८ गते गरेको फैसला बमोजिम रोहितलाई १७ वर्षको कैद सजाय तोकेको हो ।

रोहितले श्रीमती कुवेत गएको समयमा घरमा अन्य ठुला सदस्य नभएको र बत्ती नभएको बेला २०७१ कार्तिक २० गते १५ वर्षीय छोरीलाई सुत्ने कोठामा जबरजस्ती करणी गरेका थिए । उनले ज्यान मार्ने धम्की समेत दिएकाले पीडित पक्षले रोहित विरुद्ध जबरजस्ती करणीको उजुरी हालेका थिए ।

मुलुकी ऐनको जबरजस्ती करणीको महल नं १ विपरीत ३ ( ३ ) नं कसुरमा यसै ऐनको ३ (३) बमोजिमको सजाय र ऐनको दफा १० बमोजिम पीडित पक्षलाई क्षतिपूर्ति समेत हुनुपर्ने पीडित पक्षले माग गरेका थिए ।

२०७१ कार्तिक २७ गते पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेर १ वर्ष ४ महिना ४ दिन कैद सजाय भुक्तान गरे पछि रोहितलाई २०७२ चैत १ गते मोरङ अदालतबाट भएको फैसलाले सफाइ दिएको थियो ।

पीडित पक्षले आफूसँग विभिन्न प्रमाण हुँदा पनि मोरङ अदालतले गरेको फैसला जायज नभएको अदालतबाट न्याय नपाएको भन्दै फैसला विरुद्ध पीडित पक्षले उच्च अदालतमा पुनः रिट गरेका थिए ।

उच्च अदालतले विस्तृत यौनजन्य शारीरिक स्वास्थ्य परीक्षण प्रतिवेदनमा नाबालिकाको कन्याजाली च्यातिएको हुनाले रोहितले करणी गरेको ठहर गदै रोहित विरुद्ध १७ वर्ष कैद सजाए तोकेको उच्च अदालतको भनाई छ । रोहितले आफूले त्यस समयमा रक्सी खाएर आएकाले आफू उत्तेजित भएर करणी गरेको पनि स्वीकार गरेका थिए।

रोहितले यसअघि १ वर्ष ४ महिना ४ दिन कैद बसेको हुनाले उच्च अदालतले तोकेको १७ वर्ष मध्य गर्दा अब रोहितले १५ वर्ष ७ महिना २६ दिन न्यायिक हिरासतमा बस्नु पर्ने उच्च अदालतले जनाएको छ । उच्च अदालतले जबरजस्ती करणीको महल नं १० बमोजिम पीडितलाई क्षतिपूर्ति बापत रु. २५ हजार समेत तोकेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी ) टोलीले फरार रहेका रोहितलाई यही श्रावण १ गते रंगेलीबाट पक्राउ गरेको हो । मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार रोहित अहिले मोरङको हिरासतमा रहेको छन् । उनलाई पिसिआर परीक्षण गरेर रिपोर्ट आए पछि मात्र कारागार चलान गर्ने श्रेष्ठले बताए ।