धरान : सशस्त्र प्रहरीको सुनसरीको गस्ती टोलीले कोसी गाउँपालिकाबाट कटुवा पेस्तोल सहित दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोसी गाउँपालिका वडा नम्बर–५ स्थित कुम्याहीबाट कटुवा पेस्तोल सहित ४८ वर्षीय विध्यानन्द यादव र ४६ वर्षीय चन्द्रदेव यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए । पक्राउ परेका दुई जना दाजुभाइ रहेको बताइएको छ ।

आज एकाबिहानै दाजुभाइ बिच एकले अर्कालाई गोली हानेर टाउको उडाइदिने धम्की दिँदै झगडा गर्न थालेपछि शान्ति सुरक्षाका लागि घटनास्थल पुगेको सशस्त्र प्रहरीको टोलीले दाजुभाइलाई नै नियन्त्रणमा लिएको हो ।

दाजुभाइले घरनजिकको आँपको रुखमुनि लुकाई राखेको एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको प्रहरीको भनाई छ ।

सशस्त्र प्रहरीले पक्राउ परेका दाजुभाइलाई आज आवश्यक कारबाहीका लागि बरामद हतियार सहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ भने सुनसरी प्रहरीले आज शनिवार भएकाले म्याद थप गर्न नसकेको भोलि अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने जनाएको छ ।