धरान : शुक्रवार दिउँसो करिब २ बजेको समयमा ३ जना अज्ञात समूहले मोरङको सुन्दरहरैचा-१० त्रिवेणी चौकमा रहेको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाएर लुट्ने प्रयास भएको छ।

स्वचालित हतियार स्टेरलिङ मेसिनगन (एसएमजी) र पेस्तोल सहित आएको समूहले त्रिवेणी चौकमा रहेको सुन पसल लुट्ने प्रयास भने असफल भएको छ ।

ज्वेलर्सका सञ्चालक खगेन्द्र थापाका अनुसार दुई जना व्यक्ति पसलको काउन्टरमा गएर हतियार देखाई चुप लाग भने त्यसपछि श्रीमतीले बाहिर गएर चोर आयो भनेर चिच्याउन थालिन् । त्यसपछि ती व्यक्तिले सटर लगाउने कोसिस गरेका थिए ।

छाती माथि नै गन राखेपछि पुलिसलाई फोन गर्ने कुरा पनि भएन एक छिनमा फोन त गरेका थियौ तर पुलिस १०-१५ मिनेट पछि मात्र आयो। त्यतिखेर सम्ममा लुटेराहरू भागी सकेका थिए । छिटो प्रहरी घटनास्थल आएको भए चोकमा खटिएका प्रहरीले नै पक्राउ गर्न सक्थे।

सुरुमा एक जना लुटेरा पसल भित्र छिर्छन् र पेस्तोल देखाउँछन् । केही समयपछि झोलामा एसएमजी बोकेका अर्को व्यक्ति भित्र पसेर म्यागजिन लोड गर्छन् । सिसी टिभी फुटेजमा एसएमजी हतियार बोक्ने ती व्यक्ति हेर्दा करिब ५५ वर्षका देखिन्थे भने उनी हतियार चलाउन निकै अनुभवी देखिन्छन्।

बाहिरको सिसिटिभी फुटेजमा बाहिर पनि एक जना हतियारधारी देखिन्छन्। उनले हतियार देखाउँदै गर्दा भित्रबाट दुई जना पनि बाहिर निस्किएर भागेको भिडियोमा देखिएको छ ।

लुटेराले यसरी लुट्ने प्रयास गरे पछि आज थापाले दोकान बन्द गरेका छन् । गत वर्ष पनि मोरङमा यस्तो घटना घटेको थापाले बताए । उनले आफ्नै घरमा ५ वर्ष देखि सुन पसल गरिरहेका छन् ।

मोरङमा अरू पनि ठुला ठुला सुन पसल र कारोबारीहरू छन् तर, उनकै पसलमा किन लुट्ने प्रयास गरियो भन्ने समेत चासोको विषय बनेको छ। उनको पसल बजार देखी अलि भित्र रहेको छ।

ती लुटेरा समूह पछि एउटा मोटरसाइकलमा सवार भएर भागेको स्थानीयले बताए। स्थानीयका अनुसार उनीहरूले मोटरसाइकलको नम्बर प्लेट छोपेका थिए। तर सडकमा गुडिरहेको मोटर साइकलको नम्बर किन छोपियो भनेर प्रहरीले पनि चासो नदिएको स्थानीयहरूको भनाई छ ।

प्रहरीले सिसी टिभी फुटेजका आधारमा धेरै व्यक्तिलाई पक्राउ गरे पनि घटना घटेको १ दिन बित्दा पनि प्रहरीले लुटेराहरूलाई पक्राउ गर्न भने सकेको छैन।

लुटेरा समूहले प्रयोग गरेको हतियार प्रति सुरक्षा निकायहरू चकित

यो घटनामा लुटेरा समूह मध्ये एक जनाले प्रयोग गरेको हतियारका कारण अहिले १ नं प्रदेशका सबै सुरक्षा निकायहरू गम्भीर बनेका छन्।

लुटेरा समूहले प्रयोग गरेको स्टेरलिङ मेसिनगन (एसएमजी) हतियार प्राय नेपाली सेना, सशस्त्र प्रहरी र सीमित सङ्ख्यामा नेपाल प्रहरीले मात्र प्रयोग गर्ने हतियार हो । यो हतियार तत्कालीन जनयुद्धमा माओवादी र विप्लव समूहले समेत प्रयोग गर्ने गर्दथे।

यो हतियार तत्कालीन जनयुद्धमा माओवादी र विप्लव समूहले समेत प्रयोग गर्ने गर्दथे। प्रतिमिनेट ५ सय राउन्ड फायर गर्ने क्षमताको यो हतियारमा ३२ राउन्डको म्यागेजिन लाग्ने गर्दछ। यसले दुई सय मिटरको दुरीमा असरदार क्षति गर्न सक्छ। यसलाई फोल्ड गर्न सकिने भएकाले झोला भित्र यो सहजै राख्न मिल्छ।

पसल लुट्न आउने समूहको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले जानकारी दिए। लुटेरा समूहको खोजीमा इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरीको रिटको संयुक्त टिम परिचालित भएको छ।