धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै सुरु भएको आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले सिट्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।

प्रतिष्ठानबाट निस्केको सो जुलुस भानुचोकमा पुगेर कोणसभा परिणत भएको थियो । पानी परिरहेको समयमा आन्दोलनकारीहरुले छाता ओढेर भानुचोकसम्म सिट्ठी जुलुस निकालेका हुन् । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै सङ्घर्ष समितिका संयोजक डा.एस.पी.रिमालले पदाधिकारीहरू नियुक्तिमा हुने राजनीतिक स्वार्थ पूर्णरुपमा रोकिनुपर्ने बताए ।

BP-Sitthi-Julus-5

आन्दोलनकारीहरुले सरकारले उच्चस्तरीय कार्यदल गठन गरे पनि निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी रहने बताए । आन्दोलन ३२ दिन पुगेपछि मात्र सरकारले कार्यदल गठन गरेको थियो । यति लामो समयसम्म पनि शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभएको भन्दै बहिरा सरकारलाई जगाउन सिट्ठी जुलुस निकालेको सङ्घर्ष समितिले जनाएको छ ।

BP-Sitthi-Julus-4

उच्चस्तरीय कार्यदल गठन भए पनि तार्किक निष्कर्षमा नपुगेसम्म निरन्तर खबरदारी गरिरहने आन्दोलनकारीहरूको भनाई छ ।

३३ दिनदेखि आन्दोलनरत सङ्घर्ष समितिको माग बमोजिम सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय उच्चस्तरीय कार्यदल शुक्रवार गठन गरिसकेको छ ।

BP-Sitthi-Julus-3

गएको असार १५ गते वार्ताको क्रममा उपकुलपतिले मदिरा पिएर आएको भन्दै आन्दोलनकारीले वार्ता बहिष्कार गरेका थिए भने भोलिपल्ट चारै जना पदाधिकारीहरूको राजीनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

BP-Sitthi-Julus-2 BP-Sitthi-Julus-1