धरान : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित ९७ परिवार एक वर्षदेखि घरबार विहीन छन् । गत वर्ष असार २८ गते राति गएको पहिरोका कारण उनीहरू विस्थापित भएका हुन् ।

पहिरोले नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा एक वर्षदेखि उनीहरू हिउँदमा आफ्नै घरमा बसेका थिए भने अहिले फेरि टेन्टमा बस्न बाध्य हुनु परेको पीडितहरूको भनाई छ । हिउँदमा आफ्नो भत्किएकै घरमा भए पनि गएर बसेको थिए तर फेरि वर्षा सुरु भएपछि पहिरोले बगाउने डरले पुनः टेन्टमा नै फर्किएको पहिरो पीडितले बताएका छन् ।

सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो पीडित ९७ परिवारमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिकामा पुनर्स्थापना गर्न लागिएको जानकारी दिएका छन् । त्यस्तै २५ परिवारलाई सिलिचोङ–१ चित्रेमा, १२ परिवारलाई बखल्टुमटारमा र पाँच परिवारलाई सोही क्षेत्र आसपास पुनर्स्थापना गर्ने तयारी भइरहेको उनले बताए ।

कोभिड महामारीको कारण सरकारी कार्यालयहरू बन्द भएकोले गर्दा विस्थापितहरूलाई पुर्नवास गर्न ढिलो भएको अध्यक्ष कुलुङको भनाई छ । पुनर्स्थापना लागि स्थानीय निकायबाट १० प्रतिशत ८० लाख ७० हजार रुपैयाँ र बाकी विपद् व्यवस्थापन समितिबाट व्योहर्नेगरी पुनर्स्थापनाको काम अघि बढाइएको बताइएको छ ।

अध्यक्ष कुलुङका अनुसार विस्थापितहरूलाई राखिने स्थानहरूमा भुगर्भविदहरुबाट माटो समेत परीक्षण गरिसकेको जनाइएको छ । महामारी केही मत्थर हुने बित्तिकै विस्थापितहरूलाई पुनर्स्थापित गरिने सिलिचोङ गाउँपालिकाले जनाएको छ ।