धरान : धरानमा आज धरान-४,११ र १५ नम्बरका तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

धरान १५ निवासी किरात राई यायोक्खा धरान उपमहानगर समितिका उपाध्यक्ष सन्तकुमार राईको आज बिहान उपचारको क्रममा विजयपुर हस्पिटलमा मृत्यु भएको बताइएको छ ।

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत धरान ४ र ११ का २ जना कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार धरान ४ की ३७ वर्षीय महिलाको उपचारको क्रममा गए राति साढे ७ बजे मृत्यु भएको थियो ।

उनलाई असार २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसै गरी गए राति १ : २५ बजे धरान ११ का ७१ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई असार २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि असार २५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक दुवै दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।