धरान : प्रहरीले झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित पाँच जना युवालाई पक्राउ गरेको छ।

शनिवार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-३ का ३० वर्षीय प्रफुल राजवंशीलाई २ ग्राम २३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो।

राजवंशीको साथबाट प्रहरीले लागुऔषध सहित डिजिटल काटा १ थान , नगद। ५,२३० रुपैयाँ र विभिन्न कम्पनीको ४ थान मोवायल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका ९ बाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे ७५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित स्थानीय ३६ वर्षीय दिनेश खड्का, बेलका नगरपालिका-२ का ३७ वर्षीय विनोद परियार, बेलका नगरपालिका-७ का २८ वर्षीय मेजरमान राई र २९ वर्षीय बोगटी भनिने जीवन राई लाई पक्राउ गरेको हो।

लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।