विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश १ लाई आर्थिक रूपमा समृद्ध बनाउन ब्यान्ड भर्सेस ब्राण्डको अवधारणा ल्याइएको बताएकी छन्। समृद्ध प्रदेश निर्माणका लागि अरूको मुख ताक्नु नपरोस् भनेर ब्यान्ड भर्सेस ब्राण्डको अवधारणा ल्याएको उनको भनाई छ ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीको आज बिदाइ कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकी हुन । ब्याण्ड भर्सेस ब्राण्डको अवधारणा प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएर काम अघि बढाइएको मन्त्री राईले बताइन । उनले भनिन,‘ सिङ्गो प्रदेशको नेतृत्व सामाजिक विकास मन्त्रालयले गर्ने छ।’ दीर्घकालीन लक्ष्य राखेर ब्यान्ड भर्सेस ब्राण्डको अवधारणा अघि बढाइएकाले यसबाट धेरैको रोजगारी सिर्जना हुने मन्त्री राईको भनाई छ।

कार्यक्रममा बिदाइ भएका सचिव कार्कीले १ वर्ष १ महिनाको बसाइँमा धेरै समय कोरोना सङ्क्रमण नियन्त्रणमा केन्द्रित हुनु परेको बताए । उनले मन्त्रालयको सचिव भएर आएकै दिन देखि कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नु परेको बताउँदै कोरोनामा धेरै ध्यान केन्द्रित गर्दा मन्त्रालयका अन्य क्षेत्रका कतिपय काम हुन नसकेको बताए । कोरोनाका कारण श्रम तथा रोजगार क्षेत्रको तालिमका लागि आएको बजेट नै फिर्ता गर्नुपरेको उनको भनाइ छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेल, प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकी, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँ लगायतले बोलेका थिए।

मन्त्रालयका सचिव कार्कीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । सामाजिक विकास मन्त्रालयमा प्रदेश १ मुख्यमन्त्री कार्यालयबाट कमल भट्टराई आउने हुने भएका छन्।

sachib-bidai