धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फेरि अर्को मापसे काण्डको घटना घटेको छ ।

गए राति प्रतिष्ठानका डिएम र एमडि अध्ययनरत विद्यार्थी दम्पत्तिलाई आवास खाली गराउन दबाब दिँदै लेखा प्रमुख कमल रायमाझीले मादक पदार्थ सेवन गरेर धाक धम्की दिएको, गालीगलौज गरेको विरोधमा जुनियर रेजिडेन्टहरूले इमरजेन्सी र कोभिड अस्पतालबाहेकका सेवाहरू बहिष्कार गर्ने घोषणा गरेका छन् ।

घटनाको विरोधमा विज्ञप्ति जारी गर्दै जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले रायमाझीलाई आन्तरिक कारबाही स्वरूप प्रशासनबाट जिम्मेवारी मुक्त गर्न पनि माग गरेको छ ।

लेखा प्रमुख रायमाझीलाई जिम्मेवारी मुक्त नगरेसम्म आजदेखि सम्पूर्ण जुनियर रेजिडेन्टहरूले इमरजेन्सी र कोभिड अस्पतालबाहेकको उपचार सेवामा सहभागी नहुने जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

साढे ३ सय जुनियर रेजिडेन्ट सम्मिलित सोसाइटीले रायमाझीलाई कारबाही नभएसम्म काममा नफर्कने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा प्रतिष्ठान प्रशासनले लिनुपर्ने सोसाइटिको विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी सोसाइटीले कयौँ विद्यार्थी, चिकित्सक, सिनियर रेजिडेन्ट, कर्मचारीहरूले आवास नपाइरहेको अवस्थामा एउटै व्यक्तिलाई दुई वटा आवास दिने चिठ्ठी के कारणले काटिएको हो ? यसबारेमा पनि चित्त बुझ्दो जवाफ दिन आवास समिति र प्रतिष्ठान प्रशासनलाई सोसाइटीले चुनौती दिएको छ ।

यो एउटा मर्यादाविपरित र आपराधिक क्रियाकलाप भएकाले कसैले पनि आफ्नो साथी आफन्त र सङ्गठनको सदस्य भनेर बचाउ नगरिदिनु हुन र संयम अपनाइदिनुहुन पनि सोसाइटीले अनुरोध गरेको छ ।

गए राती लेखा प्रमुख रायमाझीले मदिरा पिएर उनकै आवास नजिक रहेका डिएम अध्ययनरत डा.विप्लव कार्की परिवारलाई अपशब्द बोल्दै गालीगलौज, धम्की दिएका थिए ।

घटनाबारे थाह पाएपछि विद्यार्थीहरू, आवासीय चिकित्सकहरूले रायमाझीको आवास घेराउ गरेका थिए भने प्रहरीमा पीडित डाक्टरले लिखित निवेदन दिएका छन् । प्रहरी घटनास्थल पुग्दा रायमाझी भने फरार भइसकेका थिए ।

Jr Nibedan