धरान : भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भई विगत ३ वर्षदेखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्ने २५ वर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् ।

असार ३० गते खाँदवारी नगरपालिका–९ का ४७ वर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परे सँगै निजको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने युवराज राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा निजले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।