झापा : मेची अस्पताल भद्रपुरका चिकित्सकहरूले सोमबार बिहानदेखि सम्पूर्ण सेवा ठप्प पारेका छन्। अस्पतालका डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले सम्पूर्ण सेवा ठप्प पारेको हुन्।

चिकित्सकमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने चिकित्सकहरूको अडान छ। आइतबार बेलुका करिब ५ बजे हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती कञ्चनलाई उपचारकालागि मेची अस्पतालको आकस्मिक कक्षमा गएका थिए। आकस्मिक कक्षमा कार्यरत डा। केवल कपुरी र पुष्पराजबिच उपचारकै विषयमा विवाद भएको थियो। सोही विवादको क्रममा दुवै पक्षबिच हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन्। 

डाक्टरमाथि बिरामीको आफन्त पुष्पराजले हातपात गरेको भन्दै अस्पतालका सम्पूर्ण मेडिकल अधिकृतहरूले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका थिए। घटनाको विषयलाई लिएर अस्पतालमा मेडिकल अधिकृतहरूसँग बिहान छलफल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटीले जानकारी दिएका छन्। 

छलफलपछि डा. केवल कपुरीलगायत केही मेडिकल अधिकृतहरू जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिन गएको उनको भनाइ छ। यता बिरामीका आफन्त निरौलाले भने भनाभनका क्रममा डा. केवलले आफूलाई ‘खाते’ भनेकाले हात हालेको स्वीकार गरेका छन् ।