धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणको माग गर्दै आन्दोलनरत प्रतिष्ठानका चिकित्सक तथा जुनियर रेजिडेन्टहरू अभद्र व्यवहारको जाहेरी दिन इलाका प्रहरी कार्यालय पुगेका छन् ।

एक सय बढी स्वास्थ्य कर्मचारीहरू करिब ७ घण्टा देखी इलाका प्रहरी कार्यालय धरानमा रहँदा विपीको ओपिडी सेवामा पनि अवरुद्ध भएको छ ।

गए राती प्रतिष्ठानकै आर्थिक प्रशासन महाशाखा प्रमुख कमल रायमाझीले मदिरा सेवन गरेर एक डाक्टरलाई गालीगलौज गरेको, धम्की दिएको र आक्रमणको प्रयास गरेको भन्दै कारबाहीको माग गर्दै प्रहरीमा उनीहरू पुगेका हुन् ।

प्रहरीले करिब ७ घण्टा पछि मात्रै जाहेरी दर्ता गरेको जुनियर रेजिडेन्ट सोसाइटीका महासचिव डा. गणेश फुलाराले बताए । पीडित डाक्टर विप्लव कार्की सहित चिकित्सकहरूको एक टोली इलाका प्रहरी कार्यालय पुगेका थिए । डा.कार्कीले रायमाझीविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।

गए राती रायमाझीले आफ्नो आवाससँगै जोडिएको डिएम अध्ययनरत डा. कार्कीलाई अपशब्द बोल्दै गालीगलौज गरेको र हातपातको प्रयास पनि गरेको भन्दै जुनियर रेजिडेन्टहरूले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

उनीहरूले डाक्टरलाई गालीगलौज र धम्की दिने रायमाझीलाई प्रतिष्ठानको जिम्मेवारीबाट हटाउनुपर्ने माग अघि सारेका छन् भने कानुनी कारबाहीको पनि माग गरेका छन् । उनीहरूले आजदेखि कोभिड अस्पताल र इमरजेन्सी सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कारको घोषणा गरेका छन् ।

BP-Ilaka