धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न गठन भएको उच्चस्तरीय कार्यदल डा. वैकुण्ठ अर्यालको टोली प्रतिष्ठान आइपुगेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव डा.वैकुण्ठ अर्याल संयोजक रहेको कार्यदलमा अर्यालको समुहमा शङ्कर नेपाल, डा. गुणराज लोहनी लगायतको ९ जनाको टोली प्रतिष्ठान आइपुगेको हो ।

कार्यदल र प्रतिष्ठानमा आन्दोलनरत समूहसँग पहिलो चरणको छलफल सकिएको संयुक्त सङ्घर्ष समितिका सदस्य डा. पदम नेपालीले जानकारी दिए । 

बीपीको सिनेट हलमा भएको छलफलमा कार्यदलसँग आन्दोलनकारीहरूको तर्फबाट आफ्नो कुरा राखेको र अर्को छलफल चाडै हुने बताइएको छ । 

गएको असार १ गतेदेखि प्रतिष्ठानलाई सुद्धिकरण गर्न भन्दै चिकित्सक, कर्मचारी, विद्यार्थी र नर्सिङहरू आन्दोलित भएका छन् । आन्दोलनकारीहरूको समस्यालाई सम्बोधन गर्ने भनेर असार १५ भएको वार्तामा उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएको भन्दै आन्दोलनकारीले वार्ता बहिष्कार गरेका थिए ।

त्यसयता आन्दोलनकारीहरूलाई प्रतिष्ठानका उपकुलपतिले पटक पटक वार्ताको आव्हान गरेको भए पनि पदाधिकारी र आन्दोलनकारीबिच वार्ता हुनसकेको थिएन । आन्दोलनकारीहरुले चारै जना पदाधिकारीहरूको राजीनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गर्दै आएका थिए ।

संयुक्त सङ्घर्ष समितिले पदाधिकारीहरूसँग वार्ता नगर्ने र सहकुलपति वा कुलपति स्तरबाट गठित उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान लिएका थिए ।