बेलबारी : कोरोना भाइरसका कारण बिद्यार्थीहरुको पठन पाठनमा असर पुगेपछि मोरङको बेलबारी नगरपालिकाले पठन पाठनलाई सहज बनाउन ५० स्थानमा फ्री वाईफाई जडान गरेको छ । वैकल्पिक विधिबाट पठन पाठन गर्न लागि सहज होस भन्ने उद्देश्यका साथ एउटा वडामा ४ ठाउँमा जडान गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

फ्री वाईफाई जडान भएपछि इन्टरनेट पहुँच भन्दा बाहिर रहेको बिद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने नगरपालिकाले विश्वास लिएको छ । नगरपालिकाका ५ वटा विद्यालयलाई भर्चुअल कक्षाको हब बनाएर पठनपाठन गरिने नगरपालिका शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइरालाले बताए । ५ वटा विद्यालयमा सबै विद्यालयका शिक्षक शिक्षिका भेला भएर अनलाइनको माध्यमबाट सिकाइने कोइरालाको भनाई रहेको छ ।

यस्तै अझै पनि अनलाइनको पहुँच नपुगेका बिद्यार्थीहरुका लागि सियुजि सिम उपलब्ध गराइएको नगर प्रमुख सुवेदीले बताए । सुवेदीका अनुसार उक्त सिम कार्ड मार्फत एक जना शिक्षकले ६ जना विद्यार्थीलाई एकै पटक पढाउन मिल्ने छ । उक्त सिमको प्रयोगबाट सामान्य प्रकारको मोबाइलबाट समेत पठनपाठन गर्न मिल्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।