धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा शाखा प्रमुख कमल रायमाझी प्रहरीको फरार सूचीमा रहेका छन्।

मादक पदार्थ सेवन गरेर डाक्टरमाथि दुर्व्यवहार गरेको आरोपमा अभद्र व्यवहारमा प्रहरीले जाहेरी दर्ता गरी पक्राउ आदेश लिए पछि रायमाझी फोन अफ गरेर फरार भएको प्रहरीले जनाएको छ। रायमाझी सोमवारदेखि मोबाइल अफ गरेर फरार भएका हुन्।

प्रहरीले अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ भने अभद्र व्यवहारको दर्ता नं ३ मा दर्ता भएको मुद्दामा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पक्राउ गर्ने अनुमति दिइसकेको बताएका छन्।

प्रतिष्ठानका डा विप्लव कार्कीलाई मादक पदार्थ सेवन गरेर विभिन्न प्रकारको धम्की दिँदै  दुर्व्यवहार गरेपछि रायमाझीविरुद्ध इलाका प्रहरी कार्यालय धरानले अभद्र व्यवहारमा किटानी जाहेरी दर्ता भएको हो।  सिडिओ ढकालले तुरुन्त जाहेरी दर्ता गर्न निर्देशन दिए पछि मात्र प्रहरीले सो मुद्दा दर्ता गरेको हो।

रायमाझीलाई कारबाही गर्नुको साटो प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले संरक्षण गरेको आरोप लगाउँदै प्रतिष्ठानका जुनियर डाक्टरहरूले मङ्गलवार पनि काम बहिस्कार गरेका छन्।

आइतबार राति रायमाझीले मादक पदार्थ सेवन गरी डा कार्कीको निवासमा गएर तत्काल रुम खाली गर्न धम्की दिँदै दुर्व्यवहार गरेका डा. कार्कीले बताए। बिपी प्रतिष्ठानका सहायक प्रवक्ता डा.चूडामणि पोखरेलले लेखा अधिकृत रायमाझी विरुद्ध मुद्दा दर्ता भएको आधिकारिक जानकारी नआएकाले  बताए । प्रशासनबाट आधिकारिक पत्र आएमा नियम अनुसार हुने उनले बताए ।

डा. कार्कीलाई दुर्व्यवहार गरेर फरार भएका रायमाझीलाई  प्रहरीले पक्राउ नगरेको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका ३ सय ५० जना चिकित्सक मङ्गलवार पनि काममा फर्किएका छैनन्। तत्काल रायमाझीलाई पक्राउ नगरेसम्म काममा नफर्कने प्रतिष्ठानको यजुनिर रेसिडेण्ट वल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले बताए।