धरान : जिल्ला प्रहरी कार्यालय इलाममा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको र कर्तव्य ज्यानजस्तो जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात् फरार रहेका प्रतिवादीहरूलाई तत्काल घटनास्थलमा खटेर अनुसन्धान पश्चात् पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए।

आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक तामाङलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल असार 'महिनाको सर्वोत्कृष्ट प्रहरी' घोषणा गरिएको जनाइएको छ।