धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल तोडफोड गर्नेहरू छुटेका छन् ।

धरान-१७ की ५४ वर्षीय शान्ति तामाङको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्तले कोभिड अस्पताल तोडफोड गरेका थिए । तोडफोड गर्ने नौ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालयमा भएको छलफलमा वडा नं-१७ का वडाध्यक्ष मनोज भट्टराई, वडा नं-१८ का वडाध्यक्ष प्रवीण राई सहित भएको छलफलमा तोडफोडमा भत्किएका भौतिक संरचना झ्याल र ढोका मर्मत गराइदिने सर्तमा सम्झौता गरी पक्राउ परेका ९ जनालाई जनप्रतिनिधिको रोहबरमा छाडिदिएको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

पक्राउ परी छुट्नेहरुमा महिला तर्फ सिता राई, आशा राई, शान्ता खड्का, माया राई र सोनी राई रहेका छन् । पुरुषतर्फ किरण राई, सौगात राई, सिताराम राई र मदन भुजेल रहेका छन् ।

अस्पताल तोडफोड भएपछि प्रतिष्ठानका रजिस्ट्रार मोहनचन्द्र रेग्मीले इलाका प्रहरी कार्यालयमा कारबाहीको माग गरी निवेदन दिएका थिए ।

सोमबार दिउँसो करिब साढे ३ बजे कोभिड अस्पतालमा धरान-१७ की ५४ वर्षीय शान्ति तामाङको मृत्यु भएको थियो ।

घरको बाथरुममा लडेर घाइते भएकी शान्तिलाई सुरुमा उपचारको लागि लगिएकोमा त्यहाँबाट बीपी प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएपछि कोभिड अस्पतालमा लगिएको थियो ।

कोभिड अस्पतालमा उपचारको क्रममा उनको हिजो मृत्यु भएपछि आफन्तजनहरूले उपचारमा लापरबाही भएको भन्दै घटनाबारे छानबिन गर्नुपर्ने, मृत्यु हुनुपूर्वको बिरामीको अवस्थाबारे जानकारी दिनुपर्ने, सिसिटिभी फुटेज हेर्न पाउनुपर्ने माग राखेर नाराबाजी गरेका थिए ।

मृतक पक्षको माग अनुसार मंगलबार वार्ता भएर सिसिटिभी फुटेज हेर्न दिने सहमति भएको थियो । सहमति अनुसार फुटेज हेर्न कोभिड अस्पतालमा पुगेका व्यक्तिहरूले ढुङ्गा प्रहार गर्दै ढोका र झ्यालको सिसा फुटाइदिएका थिए भने केही व्यक्तिहरू भित्रै प्रवेश गरेर स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गरेका थिए ।
तोडफोडमा इलाका प्रहरी कार्यालयका जवानको पनि टाउकोमा सामान्य चोट लागेको छ ।