धरान : धरानका मेयर तिलक राईले इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ‘ईद ऊ अजहा’ अर्थात् ‘ईद उल अजहा’ (बकर ईद) को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मेयर राईले एक शुभकामना वक्तव्य जारी गरी भनेका छन् ‘इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ‘ईद ऊ अजहा’ अर्थात् ‘ईद उल अजहा’ (बकर ईद) को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम समुदायका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

मेयर राईले हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमबाट जोगिन र सावधानीपूर्वक रही, सामाजिक दुरी कायम राखी आ–आफ्नो परिवारबिच शान्त वातावरणमा ‘बकर ईद’ पर्व मनाउन समेत अनुरोध गरेका छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रूपमा छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्त्वपूर्ण मानिन्छ ।

बकर ईद पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको छ । यी पर्वले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु,’ शुभ कामना वक्तव्यमा उल्लेख छ ।

‘बकर ईद’ पर्वले सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत धरान निर्माणको दिशामा अगाडि बढ्न समेत मेयर राईले आग्रह गरेका छन् ।

मेयर राईले ‘बकर ईद’ पर्वले सम्पूर्ण जातजाति तथा धर्मालम्वीहरुमा एकताको सन्देश दिन सफल हुने विश्वास प्रकट गरेका छन् ।

Ead