इटहरी : नेपाली काँग्रेसका नेता गगन थापाले झलनाथ खनालले विदेशमा उपचार गराएको खर्च सरकारले बेहोर्नु गैर कानुनी भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानुनी भएको भन्दै सचेत गराएका हुन ।

प्रधानमन्त्री देउवाले मंगलबार खनाललाई फोन गरी उपचार खर्च राज्यले व्यहोर्ने प्रतिबद्धता जनाएको समाचार बाहिर आएको थियो ।

थापाले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानुनी हो र अघिल्लो सरकारले कानुन विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईँ सचेत हुनुहुन्छ र तपाईँको भनाई उद्धृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’

‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छ भन्ने व्यवस्था छ र उक्त कानुन २०७५ असोज २ गतेदेखि लागू भइसकेको छ,’ कानुन स्मरण गराउँदै उनले भनेका छन्, ‘यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रस्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’

थापाले पूर्व प्रधानमन्त्री खनालको उपचारको सन्दर्भमा सबैले शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको उल्लेख गरेका छन्। नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्‍याएका खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको बताउँदै थापाले त्यसले उनको कद अझ बढेको बताएका छन्।

खनालको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसद्मा सँगै काम गर्न हामी प्रतीक्षारत रहेको बताउँदै थापाले आफ्नो चाहना छिटै पुरा हुने विश्वास व्यक्त गरेका छन्।

‘उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ। उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै,’ उनले भने , ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’