धरान : धरानमा नेपाली काँग्रेसले संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवस मनाउँदै नेपालमा प्रजातन्त्र प्राप्तिका लागि शहादत प्राप्त गरेको सहिदहरूको सम्झना गरेको छ। राणा र राजतन्त्र विरुद्धको सङ्घर्षमा काँग्रेस कार्यकर्ताले सामना गरेको ज्यानको जोखिम बाटै प्रजातन्त्र आएको हो । यसपालि पनि त्यो इतिहासका नायक बिपीको सम्झना कोरोना महामारीका बिच गरिएको छ।

विडम्बना सङ्घर्षको चुनौती र त्यसलाई सम्झना गर्दाको जोखिम पनि ज्यानैको छ । काँग्रेस सभापति तथा मेयर तिलक राईले धरानमा बढेको कोरोना सङ्क्रमण र मृत्यु दरले चाँडै लकडाउन गर्नुपर्ने अवस्था आएको समेत बताए । उनले भने ‘सङ्क्रमणको जोखिम बढेकाले सबैतिरबाट लकडाउन गर्न दबाब आइरहेको छ ।’तर इतिहास र प्रणेताहरूलाई सम्झनै पर्छ। त्यसैले स्मृति दिवस छोटो थियो ।

बिहान बिपी पार्क स्थित सालिकमा माल्यार्पण गरियो । दिउँसो निर्माणाधीन ‘बलबहादुर राई, भिमबहादुर तामाङ स्मृति प्रतिष्ठान भवन’ काँग्रेस कार्यालयमा भएको विचार गोष्ठीमा सीमित वक्ता थिए । प्रदेश १ सभामा प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता राजीव कोइराला प्रमुख अतिथि थिए । गिरिराज आचार्यले इतिहासका सम्झना सुनाए ।
बिपीको ३९ औँ पूण्यतिथिमा भएको स्मृति दिवस छोटै भए पनि धरानको सन्दर्भमा स्मरणीय भने बनेको छ । यहाँको राजनीतिक इतिहास नेपाली काँग्रेसले पहिलो पटक स्थानीय सरकारको नेतृत्वमा विजय हासिल गरेसँगै आफ्नै कार्यालय भवनमा यो दिवस मनाएको हो । धरान-२ निकेतन गल्ली स्थित ‘बलबहादुर राई, भिमबहादुर तामाङ स्मृति प्रतिष्ठान भवन’ काँग्रेस नगर सभापति तथा मेयर तिलक राईको सक्रियतामा निर्माणाधीन छ।

बिपीको सङ्घर्षको इतिहासमा धरानको सम्बन्ध जेल जीवन सँग जोडिएको छ । पहिलो पटक बिपीलाई पक्राउ गरी पैदल हिँडाएर काठमान्डु लैजाँदा तत्कालीन धरान–धनकुटा बाटोको प्रस्थान विन्दु फुस्रे सर्दुखोला थियो । त्यो इतिहासका स्मरण गराउन बिपी स्मृति पार्क र बिपीको शालिक स्थापना गरिएको हो।

बिपी कोइराला सँगै प्रजातन्त्रको सङ्घर्षमा होमिएका काँग्रेसका स्मरणीय नेताद्वय स्वर्गीय बलबहादुर राई, भिमबहादुर तामाङको स्मृति भवन धरानमा बन्नु र भवनको पहिलो उपयोग स्वरूप बिपीको स्मृति दिवस मनाइनु सुखद संयोग पनि हो। यो संयोगका लागि धरान-१८ की वडा सदस्य दिलकुमारी राईको योगदान बिर्सन नसकिने छ।

काँग्रेसको आफ्नै भवनका लागि उनले निकेतन गल्लीको आफ्नो ५ धुर मूल्यवान् जमिन निःशुल्क प्रदान गरेकी हुन् । सोही जमिनमा अढाई तले काँग्रेस भवन लगभग बनिसकेको छ। भवनमा काँग्रेस सुनसरी-१ क्षेत्रीय कार्यालय सहित पार्टी निकायका कार्यालयहरू, भातृ सङ्गठनका कार्यालयहरू रहने छन्। रङ्ग-रोगन सहित फिनिसिङको काम सकेपछि उद्घाटन गरिने छ।